देउवाद्वारा सर्वदलीय बैठक आव्हान

२०७४ पुष २० गते, बिहीबार

काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई दुई अन्य नेतासहित उपस्थित हुन आग्रह गरिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा दलीय सहमति खोज्न सर्वदलीय बैठक बोलाइएको बताए ।
बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनको मितिका विषयमा पनि नेताहरूसँग सुझाब माग्नेछन् । निर्वाचन आयोगले २५ माघभन्दा अघि निर्वाचन गर्न सम्भव नरहेको मंगलबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । दलीय सहमतिमा माघभित्रै निर्वाचनको मिति तोक्ने तयारीमा सरकारले गरेको जोशीले बताए । प्रशासनिक निकायले प्रदेशको अस्थायी राजधानीका विषयमा भौतिक संरचना र स्थानका विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ठिमी, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को दिपायलमा अस्थायी राजधानी तोक्न भवन र स्थान उपयुक्त रहेको उल्लेख गरिएको छ । केन्द्रको नाम प्रधानमन्त्रीले सर्वदलीय बैठकमा छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]