सांसद रेशम चौधरीद्वारा आत्मसमर्पण

२०७४ फाल्गुन १४ गते, सोमबार

काठमाडौँ, १४ फागुन । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । २०७२ भदौ २७ मा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालक मारिएका थिए । प्रहरीले चौधरी सो घटनाको मुख्य योजनाकार रहेको बताउँदै आएको छ । सो घटनापछि उनी फरार थिए । फरार अवस्था मै उनले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनी कैलाली क्षेत्र नं १ बाट भारी मतसहित विजयी भएका थिए ।
राजपा नेपालबाट विजयी भएका चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मतमात्र पाएकी थिइन् । उनले वारेसमार्फत उम्मेदवारी दिएका थिए । तर निर्वाचन कार्यालयले उनलाई विजयी भएको प्रमाणपत्र दिएको छैन । वारेसमार्फत प्रमाणपत्र लिन चाहेका चौधरीलाई जिल्ला निर्वाचन कार्यालयले प्रमाणपत्र नदिएपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्चले पनि आफूमाथि लागेको आरोपको न्यायिक प्रतिवाद नगरी फरार रहेका व्यक्तिलाई प्रमाणपत्र दिन नमिल्ने ठहर गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]