वीरगन्जमा गोली चल्यो , एक घाइते
काठमाडौं, १७ फागुन । अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागेर वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागेर वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् । घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकको भनाइ छ ।
चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनाका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । चौरसिया धागोको व्यापार गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि भएको गोली प्रहारको घटनाले वीरगन्जवासीलाई त्रसित बनाएको छ ।
यसैबीच, सुनसरीको दुहवीमा गएराति सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुहवी नगरपालिका ८ मा पिकअपले ट्याम्पुलाई ठक्कर दिंदा ट्याम्पुमा सवार इटहरी उपमहानगरपालिका ५ बस्न ३० वर्षीय अनुज भुजलेको उपचारका क्रमममा मृत्यु भएको छ । राति करिब ८ बजेतिर बा८च ४०५५ नम्बरको पिकअपले को१ह ७११ नम्बरको ट्याम्पुलाई ठक्कर दिंदा गम्भीर घाइते भएका भुजेलको उपचारका क्रमममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र ट्याम्पुसहित दुबै चालकलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ । यता झापाको मेचीनगर नगरपालिकामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा स्थानीय पद्मादेवी काफ्ले घाइते भएकी छन् । काफ्लेलाई राति ८ बजे मेचीनगर नगरपालिका–१३, चारआली चौकमा मे६प १८८४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । सोही दुर्घटनामा मोटरसाइकलका चालक मेचीनगर नगरपालिका–१०, धुलाबारी बस्ने जाहगीर मोहमद समेत घाइते भएका छन् । दुबै घाइतेलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएको छ ।