प्रधानमन्त्री अब्बासी काठमाडौंमा
काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी ३० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् । आज दिउँसो पाकिस्तानी सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई विमानस्थलको अतिविशिष्टकक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरे । त्यहाँबाट उनी होटल ह्यात पुग्नेछन् । सोमबारै अपराह्न उनको सम्मानमा राष्ट्रका तर्फबाट सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ दिने कार्यक्रम रहेको छ ।
यसअघि, त्रिभुवन विमानस्थलकै अतिविशिष्टकक्षमा दिइने यस्तो गार्ड अफ अनर अबदेखि सैनिकमञ्चमा दिइने भएको हो । सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागिता रहनेछ ।
प्रधानमन्त्री ओली र अब्बासीबीच सोमबार साँझ ६ बजे याक एन्ड यति होटलमा दुईपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओलीले सोही होटलमा उनलाई रात्रिभोज दिनेछन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनी स्वदेश फर्कने जनाइएको छ । नेपाल बसाइँकाक्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालका अरु राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।