गृहमन्त्रीले ल्याए ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना

काठमाडौं, १९ चैत । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलन गृहमन्त्री रामबहादुर थापाले छुट्टा–छुट्टै ९ ओटा विषय समेटेर गृह प्रशासनको नीतिगत तथा कानुनी सुधारका ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजनामा राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’लाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, हरेक स्थानीय तहमा एउटा सुरक्षा पोस्ट स्थापना गर्ने, निजामती र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना–प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रवद्र्धन गर्ने कार्ययोजनामा उल्लेख छ । पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले जाति र क्षेत्रको नाममा राष्ट्रिय एकतालाई भंग गर्ने गतिविधि भइरहेको भन्दै गृह प्रशासन चनाखो रहनुपर्ने बताए । गृहमन्त्री थापाले ‘ड्रोन’को प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिनेसमेत बताए । कार्ययोजनामा पाँच वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने जनाइएको छ । गृह प्रशासनका सबै अंगहरुलाई जनमुखी, नतिजामुखी, इमान्दार र राष्ट्रिय उद्देश्य प्राप्त गर्नसक्ने गरी परिचालन गर्ने, कारागारलाई श्रम, शिक्षा र स्वास्थ्य सुविधासहितको सुधारगृहकारुपमा विकास गर्ने, खुला कारागार स्थापना गर्न विशेष कार्यक्रम बनाइ लागू गर्नेजस्ता कार्यक्रम कार्ययोजनामा समावेश गरिएको छ ।