मोदीको भ्रमणमा सीमा अतिक्रमण र एसएसबीको ज्यादतीलाई वार्ताको एजेन्डा बनाउन माग

२०७५ बैशाख २४ गते, सोमबार

काठमाडौं, २४ वैशाख । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले विशेष समय लिएर पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका छन । उनिहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आसन्न नेपाल भ्रमणकाक्रममा कन्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती र सीमा मिचिएकोबारे कुरा राख्न समेत सरकारसँग आग्रह गरेका छन् । सांसदहरु इन्दु कडरिया, अनिता देवकोटा र हरिराम चौधरीले कन्चनपुरमा पटक–पटक भारतीय पक्षबाट सीमा अतिक्रमण र ज्यादती भइरहेकाले यसलाई रोक्न प्रधानमन्त्री तहमै छलफल गर्न माग गरेका हुन् । सांसदहरुले सरकारले पुनर्वास समस्या समाधानका लागि तत्काल ठोस पहल नगरे मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने बताए ।
यसैगरी , बैठकको विशेष समयमा माओवादी केन्द्रका सांसद रामनारायण बिंडारीले ‘सिन्डिकेट’ चलाएर अकुत सम्पत्ति कमाएका यातायात व्यवसायीको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरे । बैठकमा सांसद कालीबहादुर मल्लले कालिकोट, मुगुलगायतका जिल्लामा असिना–पानीले पुर्‍याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई राहतको व्यवस्था गर्न माग गरे । यस्तै, सांसद सुमनराज प्याकुरेल, प्रकाश पन्त, वृषेशचन्द्र लाल, रामप्रित पासवानले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]