मोदीको भ्रमण नकारात्मक इतिहासकै एक नयाँ पाना
काठमाडौं, २७ वैशाख । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणका लागि ‘वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति—२०७५’ले
‘ मोदी नेतृत्वको सरकारले नाकावन्दी लगायत विगतमा नेपाल र नेपाली जनताप्रति देखाएको व्यवहारहरुले यो भ्रमण पनि नकारात्मक इतिहासकै फगत एक नयाँ पाना बाहेक केही होइन, हुने छैन ‘ भन्ने ठोकुवा गरेको छ । भोलीदेखि हुने भनिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यस भ्रमणसँग सम्बन्धित गतिविधिहरुप्रति गम्भीर ध्यान आकृष्ट भएको भन्दै उक्त समितिका संयोजक आहुतिले आज एक प्रेस वक्तव्य जारी गर्दै सो ठोकुवा गरेका हुन् ।
संयोजक आहुतिले समग्रमा भ्रमणको सेरोफेरोमा देखिएका घटनाक्रमले दलाल शासकहरुका कारण नेपाल नवउपनिवेशको दुष्चक्रमा कसरी फसेको छ र भारतको साम्राज्यवादी शासकवर्ग नेपालमाथि कुन स्तरको प्रभुत्व जमाउन चाहन्छ भन्ने कुरा प्रष्ट भएको बताउदै यी घटनाक्रमलाई गम्भीरतापूर्वक लिई नयाँ रणनीतिसहित राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउन लामबद्ध हुन सम्पूर्ण देशभक्तहरुमा हार्दिक अपील समेत गरेका छन ।
यस बिषयमा संयोजक आहुतिले आज जारी गरेको प्रेस वक्तव्य यस्तो छ – ” भोलीदेखि हुने भनिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यस भ्रमणसँग सम्बन्धित गतिविधिहरुप्रति गम्भीर ध्यान आकृष्ट भएको छ । यस सन्दर्भमा हाम्रो धारणा यसप्रकार व्यक्त गर्न चाहन्छौँ ।
१. नेपाल र भारतका जनताबीच वहुआयामिक सुमधुर सम्बन्ध रहिआएको छ तर भारतको सत्ताधारी वर्गीय शासक डफ्फाले नेपाल र नेपाली जनतामाथि लगातार प्रभुत्ववादी र विस्तारवादी नीति लिँदै आएको छ । इतिहासदेखि सँधै नै दुई देशका उच्च पदस्थहरुको हरेक जसो भ्रमण नेपालको निम्ति थप नयाँ षड्यन्त्रको चक्रव्युह सावित भएका छन् । मोदी नेतृत्वको सरकारले नाकावन्दी लगायत विगतमा नेपाल र नेपाली जनताप्रति देखाएको व्यवहारहरुले यो भ्रमण पनि नकारात्मक इतिहासकै फगत एक नयाँ पाना बाहेक केही होइन, हुने छैन ।
२. नाकावन्दी लगायतका नीति र व्यवहारबाट असहिष्णु प्रमाणित भएका प्रधानमन्त्री मोदी नेपाली जनतासँग सम्बन्ध सुधारको निम्ति यतिखेर याचक पात्र हुन्, कदापि अभिनन्दनीय होइनन् । त्यसैले अभिनन्दन कदापि नागरिक अभिनन्दन हुन सक्दैन, बरु त्यो त नेपालका दलाल शासक डफ्फाले देखाएको दलालीको कलाविहीन नौटङ्की मात्र हो । त्यसैगरी सुरक्षाको नाममा सयौं भारतीय फौजलाई नाङ्गो रुपमा परेड खेल्न निम्तो दिने नेपालको शासक डफ्फाको निकृष्ट निर्णयले नेपाली सार्वभौमसत्ताको शीर निहुरिन पुगेको छ । यसबाट नेपालको आजको सरकार, गठबन्धनमा रहेका पार्टी र तिनका मुख्य नेता मण्डलीको देशभक्तिको नारा कति खोक्रो रहेछ भनी भण्डाफोर भएको छ । साथै नेपालको शासकवर्गका पार्टीहरुका नेतृत्व डफ्फा कुन स्तरको दलाल डफ्फामा परिणत भइसकेको रहेछ भन्ने कुरा पनि छर्लङ्ग भएको छ । नेपाली सार्वभौमसत्ता र नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने गरी यस भ्रमणका सन्दर्भमा गरिएको निर्लज्ज दलालीका निम्ति नेपालको शासक डफ्फालाई नेपाली जनताले कदापि क्षमा दिने छैनन् ।
३. यस भ्रमणका सन्दर्भमा नेपालको शासक डफ्फाले प्रदर्शन गरेको निकृष्ट दलालीको व्यवहार र भारतको शासक डफ्फाले गरेको हस्तक्षेप–दुवैको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ ।
समग्रमा भ्रमणको सेरोफेरोमा देखिएका घटनाक्रमले दलाल शासकहरुका कारण नेपाल नवउपनिवेशको दुष्चक्रमा कसरी फसेको छ र भारतको साम्राज्यवादी शासकवर्ग नेपालमाथि कुन स्तरको प्रभुत्व जमाउन चाहन्छ भन्ने कुरा प्रष्ट भएको छ । तसर्थ, यी घटनाक्रमलाई गम्भीरतापूर्वक लिई नयाँ रणनीतिसहित राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउन लामबद्ध हुन सम्पूर्ण देशभक्तहरुमा हामी हार्दिक अपील गर्दछौँ । ”