पाेखरा विमानस्थलमा बम
काठमाडौं, ३० बैशाख । पोखरा विमानस्थल नजिक बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेट नजिकै बम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रदेश नं. ४ को सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री बादल विमानस्थल पुगेपछि विमानस्थलमा बम भेटिएको हो । बम राखिएको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । र, अहिले बमलाई निष्कृय पारिएको छ । गृहमन्त्री कार्यक्रममा आउँदै गर्दा एयरपोर्टकै गेटमा बम भेटिनुलाई चुनौतिपूर्ण मानिएको छ ।
त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिकाको दुलारीमा शंकास्पद वस्तु फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि आवागमन प्रभावित भएको छ । सुन्दरहरैचाको वडा नं. ४ र ६ को सिमानामा पर्ने पूर्व–पश्चिम राजमार्गको सडकमा आइतवार बिहान शंकास्पद वस्तु फेला परेको हो । सडकको मुख्य भागमा दुईवटा वट्टामा पहेँलो टेपले बेरेर तार निकालिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बिसीले सडकमा फेला परेको शंकास्पद वस्तु हटाउन नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको जानकारी दिए । प्रहरी उपरीक्षक विसीले शंकास्पद वस्तु बम हो या होइन भन्नेबारे केही नखुलेको बताए ।