उपमेयरलाई घाँस उपहार !
काठमाडौं, ५ असार । काठमाडौं उपत्यकाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाईलाई घाँस उपहार दिएका छन् । रानीपोखरीको पुनःनिर्माण गर्न ढिलो गरेको भन्दै उनीहरुले उपमेयर खड्गीलाई रानीपोखरीमा उम्रिएको घाँस उपहार दिएका हुन् । महानगरको कार्यशैलीप्रति असन्तुष्ट उनीहरुले ज्ञापनपत्र बुझउँदै चाँडै काम सुरु गर्न नेतृत्वका ध्यानाकर्षण पनि गराए । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर मल्लकालीन स्वरुपमै बनाउन पनि स्थानीयवासीको माग छ । पुरातत्व विभागले रानीपोखरी वरिपरी लगाइएको सिमेन्टको पर्खाल भत्काउन निर्देशन दिएपनि अहिलेसम्म नभत्काइएकामा उनीहरुले आपत्ति जनाए । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मापदन्डविपरीत लगाइएको पर्खाल हटाउने निर्णय भइसकेको जानकारी दिँदै सर्वोच्च आदालतमा मुद्दा परेकाले पनि काममा ढिलाइ भएको जिकिर गरिन् ।