कांग्रेसद्वारा प्रतिरोधमा उत्रिने चेतावनी

२०७५ असार २० गते, बुधबार

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले अनशनरत् डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीका मागमा ऐक्यबद्धता जनाएको छ । कांग्रेसले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउन र उनको स्वास्थ्य अवस्था बुझ्न तीनजना सांसदलाई जुम्ला पठाउने निर्णय गरेको छ ।
त्यसैगरी, गंगामाया अधिकारीका मागप्रति ऐक्यबद्धता जनाउन र स्वास्थ्य अवस्था बुझ्नसमेत तीनजना सांसदको टोली वीर अस्पताल पठाउने निर्णय बैठकले गरेको छ । बैठकले डा. गोविन्द केसीका मागप्रति गम्भीर बन्न र उनको जीवनरक्षाका लागिसमेत सरकारसँग अपिल गरेको छ । बैठकले सरकारले लोकतन्त्र र गणतन्त्रको उपहास गरेको ठहर गरेको छ । सरकारले सर्वसाधरणलाई भेला हुने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने अधिकारलाई कुण्ठित गराउन खोजेको ठहर कांग्रेसले गरेको हो । सरकारले पछिल्लो समयमा जारी गरेको निषेधाज्ञा फिर्ता लिन माग गर्दै कांग्रेसले निषेधाज्ञा फिर्ता नलिए तोड्ने चेतावनी पनि दिएको छ ।
त्यसैगरी, बैठकले संसदीय समितिका सभापति तथा सभामुख र उपसभामुखजस्ता महत्वपूर्ण पदमासमेत सरकारले एकलौटी गरेको आरोप लगाएको छ ।सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको, उपभोग्य वस्तुमा २० प्रतिशत मूल्यवृद्धि गरेको भन्दै कांग्रेसले त्यसको प्रतिरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]