कांग्रेसले सडक र सदनमा विरोध गर्ने
काठमाडौं, २१ असार । बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएका राजनीतिक नियुक्ति खारेज गरेपछि नेपाली कांग्रेसले सडक र सदनमा विरोध गर्ने जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तात्कालीन सरकारले आफ्ना नियमित कार्यक्रम अनुसार नै विभिन्न पदमा नियुक्ति गरेको दावी गरे । अघिल्लो सरकारले गरेको निर्णय उल्टाउँदै जाने हो भने मुलुक चल्न नसक्ने भन्दै नेता पौडेलले सरकारी रवैयाले देशको उन्नति हुन नसक्ने प्रतिक्रिया दिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले दुई तिहाइको दम्भ देखाएको टिप्पणी गरेका छन् । सरकारको पछिल्लो निर्णयले राजनीतिक द्वन्द्वका लागि निमन्त्रणा दिएको उनको आरोप छ । यसैबीच कांग्रेसले पत्रकार सम्मेलन गरी आजै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।