राजपाको बैठक निष्कर्षविहिन

२०७५ असार २४ गते, आईतवार

काठमाडौं ,२४ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको बैठक बिना निर्णय सकिएको छ । बैठकमा ११ वटा कार्यसूचीमा सबै सदस्यले पालैपालो आफ्ना धारणा राखेका थिए । बैठकमा आफुले भनेजस्तो नभएपछि ठाकुर र महतो बीच पार्टी बैठकमै हानाहान भएको छ । बैठकलाई निर्णायक बनाउनुपर्ने भन्दै महाधिवेशन तथा अन्य विषयमा निर्णय सार्वजनिक गर्नुपर्ने कुरालाई लिएर दुई गुटबीचमा भनाभनसमेत भएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भएका छलफलका आधारमा राजनीतिक समितिको बैठकबाट निर्णय गर्नुपर्ने अडान लिएका थिए भने अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा उठेका विषयहरूलाई ‘कम्पाइल’ गरेपछि मात्र अध्यक्षमण्डलको बैठकबाट निर्णय सुनाउनुपर्ने अडान राखेका थिए । त्यसपछि राजेन्द्र महतोले ‘बैठक राजनीतिक समितिको बसाउने अनि निर्णय अरू बाटोबाट गर्ने यस्तो कहाँ हुन्छ ?’ भन्दै राजनीतिक समितिको बैठकमा भएको छलफलको निर्णय यतैबाट हुनुपर्ने धारणा राखेका थिए ।
‘राजनीतिक समितिको बैठक सकिएको छ, निर्णय सुन्नलाई जजसलाई बस्नुछ बसौँ, जजसलाई जानुछ जाऔँ, म कसैलाई बाँधेर राख्न सक्दिनँ । सबै विचारलाई ‘कम्पाइल’ गरेपछि मात्र निर्णय सुनाउँछु’, महन्थ ठाकुरले भनेका थिए ।
त्यसपछि महतोले कड्किएर भने, ‘अध्यक्षमण्डलबाट नै निर्णय गराउनु थियो भने राजनीतिक समितिको बैठक किन बोलाउनुभयो त ? तपाईंको अध्यक्षतामा बैठक बसेको छ, यसको जवाफ तपार्इंले नै दिनुपर्छ ।’ एक नेताका अनुसार महतोले कड्किएर बोलेपछि संयोजक ठाकुरले टेबलमा मुक्का बजार्दै भने, ‘त्यसो भए तपाईंले नै गर्नुस् न निर्णय । तपार्इंबाट हुन्छ भने तपार्इं नै गर्नुस् ।’ ‘पार्टीको संयोजक तपार्इं हुनुहुन्छ, तपाईंको अध्यक्षतामा बैठक बसेको हो । निर्णय सुनाउने अधिकार तपार्इंसँग छ भने मैले कसरी सुनाउने’ महतोले भनेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]