डा. केसीको माग सम्बोधन गर्न माग गर्दै बालुवाटारमा धर्ना

२०७५ असार २८ गते, बिहीबार

काठमाडौं,२८ असार । ‘सोलिडारिटी फर डा. गोविन्द केसी एलाइन्स’को आयोजनामा चिकित्सा क्षेत्रको सुधारको माग राख्दै विगत १३ दिनदेखि जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै बालुवाटारमा धर्ना कार्क्रम भएको छ । ‘माफियामुखी ऐन चाँहिदैन’, ‘नेपालको सत्ता, चिकित्सा ऐन बेपत्ता’, ‘जुम्लामा एमबीबीएस पढाइ कहिले हुन्छ, प्रधानमन्त्रीज्यू ?’ जस्ता नारा लगाउँदै धर्ना दिइएको थियो । धर्नाक्रममा प्रधानमन्त्रीलाई मार्सी चामल उपहार दिने भन्दै ल्याइएको थियो ।
यस्तै, उनीहरुले आगामी शनिबार माइतीघरमन्डलामा डा. केसीको मागमा ऐक्यबद्धता जनाउन कार्यक्रम गर्ने जनाएका छन् । उता, १३ दिनदेखि अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था भने झन् कमजोर बन्दै गएको छ । उनको छातीमा समस्या देखिएको छ भने मांसपेसी सुन्निने, बाउँडिने, ब्लडप्रेसर कम हुने भएको छ । रगतमा अक्सिजनको मात्रा कम हुँदै गएको छ भने सेतो रक्तकोषहरु कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि बुधबार हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको थियो । तर, डा. केसी काठमाडौं आउन मानेनन् भन्दै हेलिकोप्टर पठाइएन । माथेमा प्रतिवेदनले दिएको सुझावअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माग राख्दै डा. केसी १५औंपटक अनशनमा छन् ।
यता, नेपाल चिकित्सक संघले भने डा. केसीको माग सम्बोधन गराउन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई भेटेर आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]