‘निषेधाज्ञा निर्णय’ झिकाउन आदेश

२०७५ असार ३१ गते, आईतवार

काठमाडौँ, ३१ असार । सरकारले केही स्थानमा गरेको निषेधाज्ञा मंगलबारदेखि लागु गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले निर्णय झिकाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले माइतीघर मण्डला लगायत काठमाडौं उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय झिकाउन आदेश दिएको हो । निषेधाज्ञा जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको थियो । रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।
सरकारले साउन एक गतेबाट काठमाडौंको सुरक्षालाई ध्यानमा राखेर माइतीघर सहित शीतल निवास, प्रधानमन्त्री निवास, संसद भवन, सिंहदरवार लगायतका क्षेत्रमा धर्ना, जुलुस गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको थियो । सो स्थानको विकल्पमा सरकारले विरोध प्रदर्शनका लागि खुला मञ्च, तीनकुने खुला चौर, कोटेश्वर लगायतका क्षेत्रलाई तोकेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]