भीमदत्तनगर आज पनि तनावग्रस्त

२०७५ भाद्र ६ गते, बुधबार

काठमाडौं , ६ भदौ । कन्चनपुरकी निर्मला पन्तका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र आन्दोलन जारी राखेका छन् । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा कन्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका ‘मानसिकरुपमा अस्वस्थ’ दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । अहिले भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले मुख्य दोषीको खोजी गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केही समय अगाडि झडपसमेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि दुई सेल अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । बालिका पन्तको हत्या गरी शव उखु बारीमा फेला परे देखिनै निरन्तररुपमा हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]