बिम्स्टेक सम्मेलन शुरु हुँदै

२०७५ भाद्र १४ गते, बिहीबार

काठमाडौ, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजबाट राजधानीमा शुरु हुँदैछ । दुई दिन सम्म चल्ने सम्मेलनको राजधानीमा एक समारोहका बीच अपरान्ह पौने ४ बजे प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ । आयोजक राष्ट्रको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनको एजेन्डाहरु पनि प्रस्तुत गर्ने कार्यक्रम छ । त्यस पश्चात सदस्य राष्ट्र प्रमुख तथा राष्ट्रध्यक्षहरुले पालै पालो संबोधन गर्ने कार्यक्रम छ । शिखर सम्मेलनले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्न व्यापार, ऊर्जा, यातायात लगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गर्ने गर्नेछ ।
सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा ऊर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ । स्थापनाको दुई दशक पुगिसक्दा पनि बडापत्र तथा कानुनी दस्तावेजविहीन अवस्थामा चल्दै आएको बिमस्टेकलाई थप मजबुत बनाउने निर्णय सम्मेलनले गर्नेछ । त्यसअनुसार सम्मेलनले बडापत्र निर्माण र संयुक्त लगानी कोष स्थापना गर्न काठमाडौं घोषणापत्र जारी गर्नेछ ।
बिमस्टेक सचिवालयले भन्सार सम्बन्धी आपसी सहायता तथा सहकार्य गर्न सम्झौता गर्ने विषयमा समेत छलफल गर्नेछ । त्यस्तै सम्मेलनका क्रममा बिमस्टेक मोटरगाडी सम्झौता र बिमस्टेक तटवर्ती जल परिवहन सम्झौता गर्नेबारे छलफल हुनेछ । यस्तै सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन्ट मिन, भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रीपरिषद्का प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगिसकेका छन् भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा भने आज मध्यान्हसम्ममा काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]