‘मुलुकी संहिता संशोधन हुनुपर्छ ‘
काठमाडौं , १८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकी संहिता संशोधन गर्नुपर्ने बताएका छन् । आज बिहान चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले मुलुकी संहिताको धेरै विषयमा विरोध भईरहेको भन्दै यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने बताए । उनले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले देशव्यापी गरिरहेको आन्दोलनमा कांग्रेसको समर्थन रहेको जनाए । चिकित्सकहरुका जायज माग सम्बोधन हुनुपर्ने देउवाको भनाइ छ । उनले मुलुकी संहिता सबैसँग छलफल गरेर नै ल्याए पनि अहिले विरोध सिर्जना भएकोले समय सापेक्ष संशोधन गर्नुपर्ने प्रतिक्रिया दिए ।
देउवाले सरकारका पछिल्ला गतिविधि सही ढंगले अघि बढ्न नसकेको बताए । उनले बिमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र बिमस्टेक फरक फरक संगठन भएकोले एकलाई अर्कोसँग जोड्न नहुने देउवाको तर्क छ । यस्तै उनले संयुक्त सैन्य अभ्यासका बारेमा सबैको सहमति नभएकोले छलफलपछि मात्रै टुंगो लाग्ने बताए । देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले दोषीको पहिचान गरि कारवाही गराउन सरकार असफल भएको ठोकुवा गरे ।