‘राज्य कहाँ छ हामीलाई पनि अनौठो लाग्छ’

२०७५ आश्विन १३ गते, शनिबार

काठमाण्डौ, १३ असोज । रुपन्देहीका अधिकारकर्मी,बुद्धीजीवि, नागरिक समाजका अगुवा तथा राजनीतिक दलले मानवअधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारले मानव अधिकारको संरक्षण गर्नुपर्नेमा उल्टै विचार तथा आस्थाको आधारमा दमन गर्नु गम्भीर मानवअधिकारको उलङ्घन भएको बताए । सरकार परिवर्तन भएपनि समाजिक सत्ता परिवर्तन हुन नसकेको उनीहरुको ठहर छ । नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समिति र जिल्ला शाखा रुपन्देहीको संयोजनमा वुटवलमा भएको ‘मानव अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरकृया कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग वुटवलका प्रमुख पवन भट्टले जनताको आवाज उठाउने पत्रकारहरु नै प्रेस स्वतन्त्रता अधिकार हनन् हुन थाल्यो भन्नुले भने देशको अवस्था कस्तो छ प्रष्ट पार्ने बताए । उनले अहिले देशको मानवअधिकारको अवस्था गम्भिर रहको बताए । उनले भने ,‘कानुनका सुनौला अक्षरहरु आफै बोल्दैनन्, कार्यान्वयन गर्ने निकाय गम्भिर हुनुपर्छ तर अहिले त्यस्तो देखिदैन ।’ उनले सरकार मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमा गम्भिर नभएको भन्दै असन्तुष्टि जनाए । प्रमुख भट्टले भने ,‘ हामी विधिको वकालत गर्छौ तर सरकार न्यायालयको फैसला मान्दैन, छोड्न भनेको मान्छे अदालत परिसरबाटै पक्राउ गर्छ, मानवअधिकार आयोगले कारवाहीको सिफारिस गर्छ तर सरकार कार्यान्वयन गर्दैन ? राज्य कहाँ छ हामीलाई पनि अनौठो लाग्छ ।’
वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले अहिलेको सरकार असफल भईसकेको बताए । उनले अब मुलुकमा नयाँ क्रान्तिको आवश्यकता रहेकोमा जोड दिए । उनले भने ,‘ अब नयाँ प्रकारको आन्दोलन आवश्यक छ,क्रान्ति आवश्यक छ, अब यसको नेतृत्व गर्न आवश्यक छ ।’ उहाँले क्रान्तिकारी पत्रकार संगठन, नेपालको अभियानमा पूर्ण समर्थन रहेको उल्लेख गरे ।
वरिष्ठ अधिवक्ता एवं विश्लेषक दिल साहनीले राज्य पछिल्लो समय पञ्चालयती शैलीमा अगाडी बढेको टिप्पणी गरे । पत्रकारहरु, आन्दोलनकर्मीहरुलाई राज्यले झुट्ट मुद्धा चलाएर दुःख दिएको भन्दै आश्चर्य व्यक्त गरे । उनले भने ,‘ झुट्टा मुद्धा चलाउने, अदालतले निर्दोष भन्दा भन्दै पनि अदालतबाटै पक्राउन गर्ने अनि फनफनी ८÷१० जिल्ला घुमाउने गरिरहेको छ, यो त पञ्चायतकालमा भन्दापनि सरकार निरङ्कुश हुन थल्यो ।’ उनले अहिले अभिव्यक्ति स्वतन्त्रता नभएको बताए ।
वुटवलमा जितगढीमा रहेको भारतीय पेन्सन क्याम हटाउनुपर्ने आवाज उठाँउदा आफूमाथी अवरोध भएको बन्दै सहानीले भने ,‘ मलाई मण्डले शैलीमा अवरोध गरियो,नगरपालिकाकै कार्यक्रम हुँदापनि कोही बोलेन,नगरपालिका पनि चुपचाप लाग्यो ।’ उनले जितगढी सामारिक ठाँउ भएको भन्दै पेन्सन क्याम्प नहटाए भारतले आफ्नो अधिनमा राख्ने दाबी गरे ।
अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले सरकार निमुखाहरुलाई पेल्न खोजिरहेको बताए । उनले अहिले जताततै निराशा देखिएको र कोही खुशी नभएको उल्लेख गरे । उनले भने ,‘बोल्न नसक्नेहरुलाई सरकारले अझै पेल्दै लगिरहेको छ, मानवअधिकार कमजोर बनेको छ ।’
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले संविधानमा भएको अधिकार कसैले खोस्न नसक्ने बताए । उनले भने ,‘आस्था राख्न पाउने अधिकार छ, सरकारको समर्थन गर्न र विरोध गर्ने अधिकार छ, यो त संबैधानिक अधिकार हो यसलाई कसैले रोक्न सक्दैन । ’ उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पत्रकार महासंघ लागिरहने प्रतिबद्धता जनाए ।
नेकपाका रुपन्देही जिल्ला सचिवालय सदस्य नवीनले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको बताए । शान्तिपूर्ण रुपमा सभा, जुलुस गर्न नदिने राज्यको चरित्र फासीवादी भएको उल्लेख गरे । उनले भने ,‘ अहिले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाईएको छ, शान्तिपूर्ण कार्यक्रम गर्न रोक लगाईएको छ यो के हो ? कहाँ छ मानवअधिकार ? कहा छ अभिव्यक्ति स्वतन्त्रता ?’
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले मानव अधिकार आम नागरिकको बिषय भएको भन्दै यसको संरक्षण राज्यले गर्नुपर्ने बताए । उनले नेकपाले उठाएको मुद्दा आधारभूत जनताको दैनिक जीवनसंग सम्बन्धित रहेको बताए । राष्ट्रिय स्वाधीनताका लागी नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले अभिव्यक्ति स्वतन्त्रता मानव जीवनको जन्मसिद्ध अधिकार भएको भन्दै राष्ट्रियता र स्वाभिमानको पक्षमा बोल्दा अपमानित हुनुपर्ने अवस्था आउनु दुखद भएको बताए ।
नेपाल बार एशोसियसन रुपन्देहीका अध्यक्ष षडानन्द भण्डारीले गणतन्त्रमा सबैभन्दा धेरै मानवअधिकार हनन् हुनु गम्भीर रहेको बताए । न्यायालयले गरेको निर्णय सरकारले कार्यान्वयन नगर्नु गलत भएको उनको भनाई छ । लेखक एवं पत्रकार सिद्विचरण भट्टराईले संविधान र सरकारवीच अन्तरविरोधी देखिएको बताए ।
देश भ्रष्टहरुको अखडा भएको भन्दै विचारको आधारमा नेकपा नेता कार्यकर्तालाई गिरफ्तारी गर्नु गलत भएको बताए । कार्यक्रममा प्रेस युनियनका रुपन्देही जिल्ला अध्यक्ष रेखा भुसाल, इन्सेक प्रतिनिधि रिमा बिसी, रोडाढुंगा व्यवसायी समितिका गोपाल ज्ञवाली लगायतले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोलेका थिए । केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता, महासचिव हिम विष्टको सञ्चालन र संगठनका रुपन्देही जिल्ला अध्यक्ष शिव डुम्रेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिले देशैभर अभियान सञ्चालन गरिरहेको छ । संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु