कांग्रेस महासमिति बैठक मंसिर ५ देखि
काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महासमितिको बैठकको तयारी सुरु गरेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक काठमाडौंको भृकुटीमन्डपमा गर्ने निर्णय गरेको छ ।
कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कात्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोहलाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गराउने सन्दर्भमा सभापति देउवाले निर्देशन दिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । स्थानीय व्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठक पनि शनिबारै बस्यो । बैठकले महासमितिको बैठक र चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम व्यवस्थित र भव्य बनाउनका लागि तीनै जिल्लालाई परिचालन गर्ने निर्णय गरेको छ ।
महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक कात्तिक १२ गते सोमबार अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ । गत भदौ ९ गते बसेको बैठकको कांग्रेस केन्द्रीय समितिको निर्णयानुसार मंसिरमा महासमिति बैठक आयोजना गरिएको हो ।