सवारी साधनमा जोर–बिजोर प्रणाली लागु
काठमाडौं , १३ मंसिर । काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिनका लागि जोर–बिजोर प्रणाली लागू भएको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुनेछ । मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन । परराष्ट्र मन्त्रालयका अनुसार आज म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदै छन् ।