काङ्ग्रेस महासमिति बैठक सुरु हुदै

२०७५ मंसिर २९ गते, शनिबार

काठामाडौँ, २९ मंसिर । नेपाली काङ्ग्रेसको महासमिति बैठकको उद्घाटन अाजवाट सुरु हुने भएको छ । बैठक पुस ३ गतेसम्म चल्ने बताइएको छ । काङ्ग्रेसले संविधानको सङ्घीयता संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो । बैठकले उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार सो पार्टीका २०० जनालाई महासमिति सदस्य र १५० जना पर्यवेक्षक दिने निर्णयसमेत गरेको केन्द्रीय सदस्य यादवले जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवाले विधान संशोधनमा देखिएको विवाद सहमतिका साथ टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । महासमिति बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।
यसैबीच , काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा पेश हुने तीन प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले राजनीतिक, साङ्गठनिक र आन्तरिक आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । यही मङ्सिर ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठनिक, अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरेका थिए । समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघि नै पारित भइसकेको छ भने विधान संशोधनसम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु