डा. केसीको स्वास्थ्य अवस्था जटिल
काठमाडौं, ४ माघ । चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल गएपछि उनलाई गएराति काठमाडौं ल्याइएको छ । डा. केसीलाई इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ । डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । हिजोदेखि उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकको सल्लाह र नागरिक अगुवाहरुको पहलमा काठमाडौं ल्याइएको हो । डा. केसीलाई काठमाडौं ल्याउन पहल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको टोली हिजो इलाम पुगेको थियो ।
डा. केसीका १६ औं अनशनमा मागहरु :
१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरियोस् ।
२) गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णयका बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।
३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।
४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।
५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा््ष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।
६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।