शंकास्पद रकमबारे छानबिन टोली गठन गर्ने तयारी
काठमाडाै, ५ माघ । ५५ जना नेपालीको विदेशि खातामा रहेकाे भनिएकाे शंकास्पद रकम र अवैध विदेशी लगानी एवं रकम अाेसापसारको विषयमा छानबिन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्वीस् बैंकमा पैसा रहेको भनिएका व्यक्तिमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो । खोज पत्रकारिता केन्द्र (सिआइजे) ले आईसीआईजेसँगको समन्वयमा गरेको खोजमा ५५ नेपालीले स्विस बैंकमा शंकास्पद रूपमा पैसा राखेको दाबी गरेको थियो । त्यस सम्बन्धमा सत्यतथ्य पत्ता लगाई छानबिन गर्न शुद्धीकरण विभागलाई निर्देशन दिइएको हो ।
प्रधानमन्त्री कार्यालयले विभागलाई पत्राचार गरेर टोली गठन गरेरै छानविन गर्न सुझाएको हो । यता, विभागले भने मन्त्रालयको पत्रसँगै आइतबारदेखि नै छानविन सुरु गर्ने जनाएको छ । सिआइजेको रिपोर्टले नाम चलेका सहित अज्ञात नेपालीको विभिन्न मुलुकमा बैंक खाता रहेको र उक्त खाताबाट लगानीको रुपमा नेपाल पैसा भित्राएको सार्वजनिक गरेको थियो ।