हनुमन्ते खोलाको वहाव नफ़र्काउन चेतावनी

२०७५ माघ ५ गते, शनिबार

काठमाडाै, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले हनुमन्ते खोलाको प्राकृतिक वहाव नफ़र्काउन चेतावनी दिएको छ ।जनप्रतिनिधिहरुको इसारामा भूमाफियाले रकमको चलखेल गरेर खोलाको प्राकृतिक वहावलाई नै नयाँ धार सिर्जना गरेर फर्काउन लागिएपछि स्थानीयको आवाजलाई बुलुन्द गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले आधिकारिक धारणा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । खोलाको धार परिवर्तन गरेर स्थानीयलाई अप्ठ्यारोमा पार्ने हर्कतप्रति पार्टीको ध्यानाकर्षण भएको उसले जनाएको छ ।
भक्तपुर पार्टीका सेक्रेटरी लालकिरणले शनिबार प्रेस विज्ञिप्त जारी गर्दै खोलाको वहाव पुरानै स्थानबाट अन्यत्रै सार्ने हर्कत जारी रहेको भन्दै संलग्नहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
सूर्यविनायक नगरपालिकाको ३ र मध्यपुर नगरपालिकाको ५ नम्बर वडाको सीमानामा पर्ने हनुमन्ते खोलाको वहावलाई नयाँ धार खडा गराएर माफियाहरुले पुराना स्थानको जग्गालाई कब्जामा लिने दाउ रचेपछि स्थानीय आक्रोशित बनेका छन् ।
कुनैपनि मूल्यमा खोलाको वहाव परिवर्तन गर्न नदिने स्थानीयहरुको भनाई छ । वहाव धार फर्काउने षडयन्त्रमा आर्थिक लाभका लागि जनप्रतिनिले साथ दिइरहेको उनीहरुको भनाई छ । जनप्रतिनि र भूमाफियाबीच केही अन्तर नदेखिएकोले पार्टीको जनपक्षीय नीतिअनुसार स्थानीयको हितमा जिल्ला पार्टीले कदम चालेको सेक्रेटरी लालकिरणले बताए ।
‘हनुमन्ते खोलालाई भूमाफिया र केही स्थानीय जनप्रतिनिहरुको मिलेमतोमा फर्काउन गरिएको प्रयासप्रति नेपाल कम्युनिस्ट पार्टी भक्तपुरको गम्भीर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ । नयाँ धार खडा गराएर सम्बन्धित जग्गाधनीलाई आफ्नो जग्गा सस्तो मूल्यमा बिक्री गर्न बाध्य पार्ने षडयन्त्र भइरहेको सेक्रेटरी लालकिरणले बताए । उक्त षडयन्त्र कुनैपनि हालतमा सफल हुन नदिने र त्यसमा स्थानीयवासीको साथ रहेको उनले बताए ।
२०७४ को बैशाख २७ गते राति ११ बजेको समयमा गुण्डाहरु परिचालन गरेर माफियाले डोजर लगाएर वहाव फर्काउने प्रयास गरेका थिए । त्योबेला स्थानीयले विरोध गरेपछि रोकिएको थियो । तर अहिले पुनः जनप्रतिनिधिहरुको इसारामा अर्बौं रुपैयाँ चलखेलको सपना बुनेर माफिया सल्बलाउन थालेको र धार बनाउन अन्तिम हर्कत थालेपछि स्थानीयले नेकपालाई गुहारेका छन् । स्थानीयको आवाज प्रशासन र सम्बन्धित निकायका अधिकारीले बेवास्ता गरेपछि स्थानीयलाई न्याय दिलाउन पार्टीले पहल लिएको नेकपा भक्तपुरले जनाएको छ ।
वहाव परिवर्तन कार्यलाई नेकपाले ‘निकृष्ट र अपराधिक कदम’को संज्ञा दिँदै त्यो षडयन्त्र खारेज गरेरै छाड्ने र त्यसनिम्ति जस्तोसुकै कप्रिय कदम उठाउन पार्टी तयार रहेको विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो निकृष्ट र अपराधिक कदम खारेज गर्न प्रशासन तथा सरोकार पक्षसँग जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘अन्यथा, मागलाई बेवास्ता गरेमा जनताको साथ लिई पार्टीले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुनेछ ।’ साथै प्राकृतिक सम्पदा, खोला, वन–जंगल तथा प्राकृतिक स्रोतलाई बेचबिखन गर्ने र खरिद गर्ने जोकोहीलाई जनस्तरबाट कारवाही गर्ने नीतिलाई हाल पार्टीले कडाईका साथ लागू गरिरहेको उसले प्रष्ट पारेको छ । राष्ट्रिय स्वाधीनता, जनताको पूर्ण अधिकारको संघर्ष एकीकृत जनक्रान्ति र जनताको राज्यव्यवस्ता वैज्ञानिक समाजवाद स्थापनाको यात्रामा गोलबन्द हुन समेत विज्ञप्तिमार्फत उपेक्षित तथा उत्पीडित सबैपक्षसँग अपिल गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु