नेकपाको संगठनात्मक एकीकरण अन्याैलग्रस्त

२०७५ माघ १५ गते, मंगलवार

काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तल्लाे तहसम्मकाे संगठनात्मक एकीकरणको विषय अन्याैलग्रस्त नै रहेकाे छ । एकीकरणका बाँकी काम टुंग्याउनका लागि गठित पछिल्लाे ‘शक्तिशाली कार्यदल’ले पनि काम चुस्त रुपमा गर्न नसक्दा एकीकरणको विषय पुनः सचिवालयमै फर्किने सम्भावना बढेर गएको छ । यसअघि गठन गरिएको प्रदेश कमिटीहरुको विषयमा कार्यदलभित्र सहमति जुट्न नसकेपछि कार्यदलमा कुनै विषयमा पनि सहमति हुन सकेको छैन ।
पछिल्लो समयमा कार्यदलकाे बैठक माघ ६ मा बसेको थियो । बैठकमा सचिवालय सदस्य रामबहादुर थापाले उपयुक्त समयमा बैठक बोलाउने भने पनि बैठकबारे जानकारी नआएको नेताहरुले बताएका छन् । कार्यदललाई पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य विभाजन, जिल्ला कमिटीका गठन, अध्यक्ष र सचिवको मापदण्ड निर्माण निर्माण, जनवर्गीय संगठनको विषयमा उपयुक्त सिफारित गर्ने कार्यदेश रहेको छ ।
पुस दोस्रो साता भएको स्थायी कमिटीका बैठकले तल्लो कमिटीहरुको गठनका सिफारिस गर्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, वेदुराम भुसाल, रघुवीर महासेठ, लेखराज भट्ट रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]