अख्तियारका आयुक्त पाठकविरुद्ध महाभियाेग लगाउने तयारी
काठमाडौ, ३ फागुन । सत्तारुढ दल नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने भएको छ । ७८ लाख रुपैयाँमा घुस खाएको खुलासा भएपछि सत्तारुढ दलले पाठकविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने तयारी गरेकाे हो । पाठकले घुस खाएकाे कुरा बाहिर अाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोग प्रस्ताव अघि बढाउनका लागि सांसदहरुलाई निर्देशन दिएका थिए ।
पाठककाे घुस काण्डको ‘स्टिङ अपरेसन’ गर्ने समूहका व्यक्तिहरुलाई बिहीबार साँझ बालुवाटारमा बाेलाएर भेट गर्दै प्रधानमन्त्री ओलीले पदमा रहँदा ‘शेर’ बन्नेहरुलाई महाभियाेग लगाए ‘बिरालाे’ बनाउने बताएका हुन् । उनले अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीको उदाहरण दिँदै महाभियाेगकाे प्रसंग उठाएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका स्वामित्व विवादको विषयमा कलेज सञ्चालक समितिमा अध्यक्ष लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस खाएका थिए । संघ-संस्था ऐनअन्तर्गत दर्ता भएको सो कलेजलाई हत्याउन न्यौपानेले सोही नामको निजी कम्पनी स्थापना गरेका थिए । सो विवाद अख्तियार पुगेपछि आयुक्त पाठकले न्यौपानेसँग विवाद मिलाउने भन्दै दुई पटक गरी सो घुसको रकम लिएका थिए ।संविधान तथा कानुन विपरित काम गर्ने संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुलाई कारवाही गर्ने अधिकार संसदमा मात्रै हुन्छ । संसद सदस्यका एक चौथाइ संख्याले संसदमा महाअभियोग प्रस्ताव अघि दर्ता गरे संवैधानिक निकायका व्यक्ति निलम्बन हुन्छ । महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ संख्या आवश्यक पर्छ ।