पाठकमाथि भ्रष्टाचार गरेको आरोपमा छानबिन हुने

२०७५ फाल्गुन ७ गते, मंगलवार

काठमाडाैं, ७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन हुने भएकाे छ । अख्तियारले पाठकबिरूद्व छानबिन अघि बढाउने भएको हाे । अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पूर्वपदाधिकारीमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न कुनै संवैधानिक र कानुनी अड्चन नहुने राय दिएको हो । ‘सार्वजनिक पदमा रहेको र त्यस क्रममा नै पदको दुरुपयोग गरी घूसरिसवत लिएको विवरण सार्वजनिक भएकाले पूर्वआयुक्त पाठकमाथि भ्रष्टाचारको छानबिन गर्न सकिन्छ भन्ने आफ्नो प्रारम्भिक दृष्टिकोण तय गरेकाे अख्तियार श्राेतले भन्याे ।
अख्तियारको बैठकले आइतबार पाठकमाथि छानबिन गर्नेबारेआफ्नो धारणासहित राय माग्ने निर्णय गरेको थियो । पाठकमाथिको अनुसन्धानलाई परिपक्व बनाउन सुरुमै राय मागेर अघि बढेको अख्तियारस्रोतले बतायो । आयुक्त पाठकले राजीनामा दिएको ४८ घण्टाभित्रै अख्तियारमा उनका विरुद्ध उजुरी परेको छ । आयोगमा १९४६५ दर्ता नम्बरमा आइतबार दर्ता भएको उजुरीमा आयुक्त पाठकमाथि ‘गैरकानुनी सम्पत्ति आर्जन’को अभियोगमा अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।
उजुरीमा पाठकसहित घूस दिने इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने, पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठक लगायतमाथि कारबाहीको माग छ । उजुरीमा भनिएको छ, ‘घूससम्बन्धी कुराकानीको भिडियो मेट्न र प्रमाण नष्ट गर्न सम्बन्धित व्यक्तिमाथि धरपकड गर्ने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाई समेत कारबाही गरिपाउँ।’
यस्तै प्रतिनिधिसभा बैठकमा सांसदहरूले पाठकलाई राजीनामा दिँदैमा छुट नदिन माग गरेका छन् । उनीहरूले भ्रष्टाचारको सत्यतथ्य पत्ता लगाएर पाठकलाई कारबाही गर्न आग्रह गरे ।
सांसद अमृता थापाले संवैधानिक पदमा बसेका व्यक्तिले राजीनाम दिँदैमा छुट पाउन नहुने बताइन् । सांसद गणेश पहाडीले भ्रष्टाचार कसुर प्रमाणितभए पाठकलाई कारबाही गरिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रियाहरु

[anycomment]