‘सरकार–सीके राउतबीचको सहमति मान्य हुँदैन ‘
काठमाडौं,२५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन । रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सो चेतावनी दिएका हुन ।उनले उक्त ‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता त प्रदान गर्दैन ?’ भनी प्रश्न गरे । ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ । यसमा कसैको विरोध हुँदैन । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन’–साक्षात्कारमा नेता रावलले भने । ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थें’–उनले भने–‘तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन । उहाँले यसअघि राष्ट्रविरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो । ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’ उनले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पस्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पस्ट नदेखिएको आरोप लगाए । उनले भने–‘राउतजीले नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखन्डनकारी अभिव्यक्ति दिएकाले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो । तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा ‘देशको एक इन्चपनि भूमि टुक्र्याउन पाइँदैन’ भनेर बोलेको उल्लेख गर्दै नेता रावलले भने–‘तर, हिजो स्वतन्त्र मधेस संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेस भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’
रावलले सीके राउतले आफ्नो फेसबुक पेजमा ‘जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो’ भनेर पोस्ट गरेकोपनि सुनाए । ‘उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ । स्वतन्त्र मधेसका सबै मुद्दाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ । यो निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्छ’–उनले भने । राउतसित भएको सहमति नेपालको संविधान र पार्टीको विधानविपरीत भएको उनको टिप्पणी छ ।
उनले यत्रो सहमति गर्दापनि पार्टीभित्र छलफल नभएको भन्दै आक्रोश पोखे । ‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन ? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत आफ्नो मत प्रेषित गरेको थिएँ । हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो । तर, सच्याइएन । पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ । एक दुईजनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’ रावलले प्रधानमन्त्री ओलीले राउतलाई ‘दार्शनिक’ भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे । ‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्शनिक भनियो’–उनले भने–‘उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ? म प्रश्न गर्न चाहन्छु ।’ उनले सो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापाको राजीनामाका विषयमा अब बस्ने पार्टी बैठकमा छलफल हुने जिकिरपनि गरे ।
शुक्रबार सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो । त्यसको भोलिपल्टै सत्तारुद्ध दलकै प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो ।