‘सिके राउतप्रति नरम, विप्लबप्रति कठोर व्यवहार गर्नु अशोभनीय ‘

२०७५ फाल्गुन २६ गते, आईतवार

काठमाडौं, २६ फागुन । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन । सदरमुकाममा आज पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले विप्लप नेतृत्वको राजनीतिक पार्टीले पछिल्लो समय विद्रोहको नेतृत्व गरेकाले वार्ताबाटै राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । उनले तराई विखण्डनको आन्दोलनमा लागेका सिके राउतसँग सरकारले सम्झौता गरी राजनीतिक मूलधारमा ल्याएकै हो भने विप्लप नेतृत्वको पार्टीसँग पनि छलफल र सहमतिबाटै समाधान खोज्नुपर्ने बताए ।
“सरकारले विप्लप नेतृत्वकोे दलको माग राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ”, उनले भने , “देशलाई विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्रधानमन्त्रीले सहमति गर्नुभयो भने उहाँहरुलाई पनि त्यही ढङ्गले सम्बोधन गरी समाधान खोज्नुपर्छ ।”
“सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लपप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन”, डा भट्टराईले भने । सरकारले सिके राउतसँग गरिएका सम्झौतामा दोहोरो अर्थ लागेकाले त्यसलाई स्पस्ट पार्नुपर्ने उनको भनाइ थियो । “हामी राजनीतिक असन्तुष्टि राख्नेलाई बोलाएर सरकारले छलफल गर्नुपर्छ, वार्ता गर्नुपर्छ र समस्याको समाधान खोज्नुपर्छ भन्ने पक्षमा छाैँ”, डा भट्टराईले भने , “देशलाई विखण्डन गर्न खोज्नेसँग भने सरकार सचेत हुनुपर्छ ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु