सरकार र सिके राउतबीचको सहमति सच्याउन माग
काठमाडौं, २६ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीमबहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । सांसद रावलले सिंगो राष्ट्रको स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको हक स्थापित हुने गरी संविधान जारी गरिएको स्मरण गराउँदै विगतमा सिके राउतसँग गरिएको सहमतिमा प्रयोग गरिएका शब्द नेपालको संविधान अनुकुल नरहेको दावी गरे । उनले संविधानको धारा ५ को उपधारा २ मा ‘राष्ट्रहित प्रतिकुलको आचरण र कार्य संघीय कानुन बमोजिम दण्डनीय हुनेछ’ भनिएको स्मरणसमेत गराए ।
राष्ट्रिय एकता, अखण्डताको विरुद्धमा सिके राउतले विगतमा सकेसम्म विष बमन गरेको जिकिर गर्दै नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका सांसद रावलले सरकारसँगको सहमति घोषणा कार्यक्रममा वा त्यसपछि कुनै कार्यक्रममा सिके राउतले विगतमा आफूले दिएका ती अभिव्यक्ति फिर्ता लिएको घोषणा कतै नगरेको स्मरण गराए । उनले सिके राउतले विज्ञप्ति जारी गरेर विगतमा आफूले देशको अखण्डता, राष्ट्रियक एकताविरुद्ध दिएका अभिव्यक्ति फिर्ता लिएको घोषणा गर्नुपर्ने माग गरे । नेपाल राष्ट्रको स्वाधिनता, अखण्डताको विरुद्धमा राउतले आजसम्म भनिएका कुरा फिर्ता लिइएको भनेर वक्तव्य आउनुपर्ने उनको भनाइ थियो । अब उप्रान्त संविधानलाई आत्मसात गरेर नेपालको स्वाधिनता, अखण्डताअनुरुप शान्तिपूर्ण प्रतिश्पर्धामा जान म तयार भएको छु भनेर राउतले वक्तव्य दिनुपर्ने नेकपा नेता रावलले प्रष्ट पारे ।