‘खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस लाग्नु असह्य’

२०७५ फाल्गुन २७ गते, सोमबार

काठमाडौं,२७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा खुल्लमखुल्ला बिखण्डनकारी नारा घन्किनु असह्य भएको टिप्पणी गरेका छन् । सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिकाबारे राजनीतिक बृत्तमा अनेक आशंकासहितका प्रश्न उठिरहेको समयमा राउतका कार्यकर्ताले जनकपुरमा विखण्डनकारी नारा लगाएपछि यस्तो प्रतिकृया जनाएका छन् ।
यता सांसदको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सिके राउत देशको अखण्डताको पक्षमा आएको दावी गर्दै राउतसँग ‘जनमत संग्रह’बारे कुनै सम्झौता नभएको प्रष्ट्याइरहदा राउतको स्वागतमा कार्यकर्ताले भने विखण्डनको नारा घन्काईरहेका थिए ।
आइतबार नै सिके राउत जनकपुर पुग्दा उनका समर्थक तथा कार्यकर्ताले उनलाई ‘फ्रि मधेस’ को झण्डासहित स्वागत गरे ।
त्यसलगत्तै नेकपा प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र कि भइरहेको छ ? यो हद भयो, असह्य भयो । बिखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि बिखण्डनवादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु. कदम चाल्नुपर्छ । गम्भीर बनौं ।’
प्रवक्ता श्रेष्ठले अर्को ट्वीट गर्दै समृद्ध नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता–शक्ति, पद–प्रतिष्ठा–प्रचार र पैसा–सुविधाको निम्ति ? यतिबेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्ध नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने ? गम्भीर आत्मसमीक्षा गरौं । राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु