‘सिके राउतसंगको सम्झौता राष्ट्रघाती ‘

२०७५ फाल्गुन २८ गते, मंगलवार

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको ठोकुवा गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देश टुक्र्याउने गतिविधिसहित जनमत संग्रह माग्दै हिँड्नु कांग्रेसका लागि सैह्य नभएको बताए । सम्झौतामा भएका बुँदा राष्ट्रघाति रहेको उनको टिप्पणी थियो । ‘सिके राउतले जनमत संग्रह गर्ने र देश टुक्राउने कुरा गर्छन् हामी यसलाई कसरी स्वीकार्न सक्छौं ?’ देउवाले भने, ‘यस विषयमा न प्रधानमन्त्रीको खण्डन आउँछ, जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’ फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको उनले बताए । उनले भने, ‘प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने अधिनायकवादतर्फ जान्छ ।’ आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणीसमेत उनले गरे । ‘सरकारले विभिन्न नाउँमा संघीयतालाई असफल बनाउन लागिरहेको छ । यो कांग्रेसका लागि मान्य हुँदैन,’ उनले भने ।

प्रतिक्रियाहरु

[anycomment]