विप्लवमाथीकाे प्रतिबन्ध निरंकुशताकाे पराकाष्ठा : सिपि मैनाली

२०७५ फाल्गुन ३० गते, बिहीबार

काठमाडौं, ३० फागुन । नेकपा मालेले विप्लव नेतृत्वको नेकपामाथिकाे प्रतिबन्धलाई निरंकुशताकाे संज्ञा दिएकाे छ। नेकपामाथि लगाएको प्रतिबन्धप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै पार्टीका महासचिव सीपी मैनालीले सरकारले लगाएकाे प्रतिबन्धप्रति आपति जनाएका हुन् । उक्त पार्टीका महासचिव मैनालिद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘यो सरकार एकातिर राष्ट्रविखण्डन गर्ने घोषित उद्देश्य लिने सीके राउतको जस्तो समूहलाई सहमतिको नाममा राष्ट्रविखण्डनकारी गतिविधि गर्ने छुट दिन्छ र अर्कोतिर त्यही सरकार निश्चित राजनीतिक उद्देश्य लिएको एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउने जस्तो अपरिपक्व र निरंकुश निर्णय गर्दछ । नेकपा (माले) यस्तो कार्यको विरोध गर्दछ ।’ सो पार्टीले वर्तमान परिवेशमा चन्द नेतृत्वको नेकपाले अपनाएको हिंसात्मक संघर्षको कार्यनीतिप्रति नेकपा (माले) सहमत नभएको समेत जनाएको छ । तर त्यस्ता कृयाकलापहरुलाई प्रशासनिक ढंगले नियन्त्रण गर्ने नाममा पार्टीमाथि नै प्रतिबन्ध लगाउने जस्तो कार्यलाई गलत र गैरजिम्मेवार भएको उसको ठहर छ । विज्ञप्तिमा भनिएको छ, सरकारले वार्ता र संवादको ढोका बन्द गर्नु हुन्न् । राजनीतिक रुपले समस्याहरुलाई संबोधन गर्ने बाटो अख्तियार गर्दैै सरकारले उक्त पार्टीमाथि लगाइएको प्रतिबन्धबारे तत्काल पुनर्बिचार गरोस् भनी नेकपा (माले) सरकार समक्ष माग गर्दछ । ’

प्रतिक्रियाहरु

[anycomment]