नेकपामाथि लगाईएको प्रतिबन्ध हटाउन बारको आग्रह

२०७५ चैत्र १३ गते, बुधबार

काठमाडौं, १२ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता लिन नेपाल बार एसोसिएसनले सरकारसँग माग गरेका छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बारले नेकपालाई लगाईएको प्रतिबन्ध असंवैधानिक भएको ठहर गर्दै सरकारलाई फिर्ता लिन आग्रह गरेको हो ।
त्यसैगरी बार एसोसिएसनले नेकपालाई पनि चैत्र १६ गतेका लागि आव्हान गरेकोे नेपाल बन्द फिर्ता लिन आग्रह गरेको छ । नेकपा महासचिव विप्लवले सोमवार विज्ञप्ती निकालेर पार्टीमाथि लगाएको प्रतिबन्ध र नेता कार्यकर्ताकाको गिरफ्तारीको बिरोधमा नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
बार एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीले चैत १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन हुन लागेको र बन्दले निर्वाचन प्रभावित हुने भएकाले बन्द फिर्ता लिन पनि आग्रह गरेको बताएका छन् ।
खातीले राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने बताएका छन् । नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यबस्था हुँदाहुँदै पनि ओली सरकारले त्यसको विरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैर संवैधानि तरिकाले प्रतिबन्ध लगाएको एसोसिएसनले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मिति २०७५ फागुन २८ गतेदेखि लगाएको प्रतिबन्ध नेपालको संविधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाउने स्पष्ट संबैधानिक ब्यवस्थाको प्रतिकुल हुनेगरी भए गरेको मन्त्रिपरिषद्को निर्णय गैर संवैधानिक रहेको बारको ठहर छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिबन्ध लगाइसके पश्चातको घटनाक्रमले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु गिरफ्तार गरेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा मिति २०७५ चैत्र ११ गते जारी वक्तव्यबाट मिति २०७५ चैत्र १६ गते शनिबारका दिन नेपाल बन्दको कार्यक्रम रहेको जानकारी हुन आएकोले उक्तदिन नेपाल बार एसोसिएसनको पूर्वघोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन हुने र सोहि बमोजिम निर्वाचन समितिले आफ्नो कार्यक्रमहरु प्रकाशित गरी नेपालभर विभिन्न स्थानहरुमा मतदान केन्द्रहरु तोकी सम्पूर्ण कानुन व्यवसायीहरुलाई निर्वाचनमा मतदान गरी नयाँ कार्यसमिति निर्वा्चित हुने कार्यक्रम रहेकोले चैत्र १६ गतेको नेपाल बन्द तात्कालै फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ नेतृत्व समक्ष आग्रह गर्दछौं ।’
एसोसिएसनले १६ गते शनिबारको दिन एसइइ परीक्षा समेत संचालनमै रहेको जानकारी गराउदै बन्द फिर्ता लिन आग्रह गरेको छ ।
नेकपाले सरकारको प्रतिबन्ध र दमनबिरुद्ध सोमबार चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । चैत २४ गतेसम्मको घोषित संघर्षका कार्यक्रम अनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]