भारतीय विदेश सचिव गोख्ले नेपाल आउँदै
काठमाडाैं, १४ चैत । भारतका विदेश सचिव विजय गोख्ले आज काठमाडौँ आउँदै छन्। सचिव गोख्लेले नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका पक्षमा विचारविमर्श गर्ने कार्यक्रम रहेको छ । सचिवसँगै सहसचिव सुधाकर दलेला पनि नेपाल आउने जनाइएको छ । त्यस्तै नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेट गर्ने कार्यतालिका रहेको छ। भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ। गोख्ले झण्डै १५ महीनाअघि विदेश सचिवमा नियुक्त भएका थिए । उनी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई सचिवको नेतृत्वमा आजै द्विपक्षीय वार्ता हुने बताइएको छ ।