देशभरका अस्पतालमा सेवा ठप्प
काठमाडौँ, २२ चैत । सरकारी चिकित्सक संघ (गोदान)ले सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजन भएकोमा असहमति जनाउँदै सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेको गोदानका महासचिव डा रविन खड्काले बताएका छन् । गोदानले बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो। यसकासाथै माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् । समायोजनका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरु नै चिकित्सकविहीन हुने अवस्था आएको भन्दै निर्णय सच्याउनु पर्ने गोदानको भनाइ छ ।