सत्तारुढ नेकपाभित्र विवाद चर्कदै
काठमाडौ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद झन चर्कदै गएको छ । पार्टी एकताको ११ महिनासम्म पनि एकताले पूर्णता नपाउँदा विवाद हल हुनुको साटो बढ्दै गएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।
नेताहरूलाई छुटुटाछुटै भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने रणनीति स्वरुप अध्यक्षद्धयले वरिष्ठ नेताहरू माधवकुमार नेपाल र ईश्वर पोखरेललाई अध्यक्षद्धयले आज छलफलका लागी बोलाएका छन् ।
पोखरेलले छलफलका लागि अध्यक्षद्वयले आफूलाई सोमबार प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएपनि किन हो भन्नेबारे केहि नबताएको जनाए । यस्तै वरिष्ठ नेता माधव नेपाललाई समेत आजै सोमबार बोलाएका छन् । तर केहिदिनदेखि अस्वस्थ नेता नेपालले स्वास्थ्यमा सुधार आए आउने जवाफ दिएको जनाईएको छ । पछिल्लो समय नेता नेपालले सचिवालयबाट विधि, प्रक्रिया र मापदण्ड नबनाई जिल्ला नेतृत्वको नाम पारित गर्न खोजिए प्रतिवाद गर्ने भन्दै बेग्लै समानान्तर सूची नै बनाएका छन् ।
जिल्ला नेतृत्वको सूची टुंग्याउने विषयमा परामर्श नहुँदा पछिल्लो समय ओली–नेपालबीच औपचारिक संवाद समेत हुन नसकेको बताईन्छ । उता अर्का वरिष्ठ नेता झलनाथ खनाल भारत भ्रमणमा रहेकाले स्वदेश फर्किएपछि छलफल गर्ने तयारी रहेको बुझिएको छ ।