कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षहीन
काठमाडौं, २५ चैत । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकमा कार्यसम्पादन समिति र गठन हुन बाँकी रहेका विभागका विषयमा छलफल भएपनि बिनानिष्कर्ष टुगिंएको छ । बैठकमा कार्यसम्पादन समिति गठनमा सहमति बन्न नसकेकाले तत्काललाई यो विषय थाती राखी विभागहरु गठन गर्ने प्रस्ताव उनले गरेका थिए । कांग्रेसको विधानमा २९ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने प्रावधान रहेको छ । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफ्ना पक्षको नाम दिन आग्रह गरेका थिए । तर, पौडेलले भने त्यसमा निर्णय लिएनन् । सभापतिले नाम मागेपनि विभाग गठनका विषयमा निष्कर्ष निस्कन नसकेको बैठकपछि नेता पौडेलले जानकारी दिए । गुटगत राजनीतिमा फसेको कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएका बेला बोलाइएको नेताहरुको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति फेरि पनि गठन गर्न नसकिएको हो ।
सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ६०/४० प्रतिशतका आधारमा समिति बनाउन सहमति जुटेपनि अर्का नेता कृष्ण सिटौला विरोध गरेकाले यो विषय अनिर्णित भएको हो । सभापति देउवाले केन्द्रीय समितिको बैठकमा नाम प्रस्ताव गर्नुपूर्व सहमति खोज्न बोलाएको नेताहरुको बैठक पूर्वमहामन्त्री सिटौलाले भने बहिस्कार नै गरिदिए । केन्द्रीय समितिपछिको शक्तिशाली निकाय कार्यसम्पादन समिति गठनमा आफ्ना मानिसहरु राख्न कांग्रेसमा नेताहरुबीच गुटैपिच्छेको स्वार्थ देखिन्छ । कार्यसम्पादन समिति बनाउन सभापति देउवा र नेता पौडेलले भागबन्डा गरेपनि आफूलाई बेवास्ता गर्न खोजेको भन्दै सिटौला असन्तुष्ट बनेका हुन् । नेताहरुबीचमा कुरा नमिलेकै कारण शनिबार बोलाइएको केन्द्रीय समिति बैठक नै हुन सकेको थिएन । सिटौलाले २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले दुई सदस्य पाउनुपर्ने अडान राखेका छन् भने देउवा र पौडेल सिटौलालाईमात्रै राख्न सहमत भएका छन् ।