विवेकशील नेपालका अध्यक्ष थापा सहित १७ पक्राउ
काठमाडौं, ४ बैशाख । विवेकशील नेपालका अध्यक्ष उज्जवल थापासहितका १७ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गरिएको भनिएको बालुवाटारस्थित सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री कार्यालय परिसरको निषेधित क्षेत्रबाट उज्जवल थापासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । मल्पी इन्टरनेशनल स्कुल अगाडिबाट अघि बढ्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई अहिले पानीपोखरीस्थित प्रहरी बिटमा राखिएको जनाइएको छ ।
पक्राउ पर्नेमा उज्जवल थापा, मिलन पाण्डे, शशिविक्रम कार्की, अमृत विष्ट, रमेश सिलवाल, रामजी पन्त, पुरुषोत्तम ढुंगेल छन् । यसैगरी शिव सत्यम, दयराम सापकोटा, विमल तामाङ, प्रमेश श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ अन्यमा छिरिङ तामाङ, रितेश यादव, सुन्दर न्यौपाने र प्रदीप ज्ञवाली छन् ।