राजपा रुस्ट : ‘ सरकारले मधेसका माग पूरा गर्न चासो देखाएन’
काठमाडौं, ७ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका संयोजक शरत्सिंह भण्डारीले सरकारले मधेसका माग पूरा गर्न चासो नदेखाएको आरोप लगाएका छन । उनले मधेसका मागप्रति बेवास्ता गर्ने सरकारको कार्यशैली निराशाजनक रहेको टिप्पणी गरे । राजपाले यही वैशाख ७, ८ र ९ गते महाधिवेशनको मिति तय गरेपनि पार्टीभित्रको आपसी मनमुटाव र आवश्यक तयारी हुन नसकेपछि महाधिवेशन स्थगित गरिएको छ ।
राजपा नेता राजेन्द्र महतोले कुनैपनि हालतमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै छिट्टै पदाधिकारी बैठकबाट महाधिवेशनको टुंगो लाग्ने बताए ।
राजपाका अर्को नेता अनिल झाले पार्टीभित्र कुनै विवाद नभएको बताउँदै केही पदाधिकारीहरुबीच भएको असमझदारी वार्तामार्फत् समाधान गरिने बताए । पार्टीले वैशाख ८ र ९ गते पदाधिकारी बैठक डाकी महाधिवेशन कहिले गर्ने भन्नेबारे निर्णय गर्ने तयारी गरेको छ । शरत्सिंह भण्डारी, राजेन्द्र महतो र अनिल झा विशेष अधिवेशन गर्ने पक्षमा रहेका छन् भने महेन्द्र राय यादव, राजकिशोर यादव र महन्थ ठाकुर पूर्ण महाधिवेशनको पक्षमा रहेका छन् । यसबारे पदाधिकारी बैठकले टुंगो लगाउने पार्टीले जनाएको छ ।