पत्रकार महासंघद्वारा पत्रकार महर्जनलाई तत्काल रिहा गर्न माग
काठमाडौं, ९ वैशाख । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरिएका पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न माग गरेको छ । सर्वोच्च अदालतले आइतबार महर्जनलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले फेरि पक्राउ गरेको थियो । समाचार लेखेकै कारण पत्रकारहरुमाथि विद्युतीय कारोवार ऐन, राज्य विरुद्धको अपराध जस्ता गम्भीर अभियोग लगाउँदै गैरकानूनी गिरफ्तारी गर्ने कामको विरोधमा पत्रकार महासंघले आन्दोलन गरिरहेका बेला सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका पत्रकारलाई अदालत परिसरबाटै पक्राउ गर्ने कामले लोकतन्त्र, मानवअधिकार, विधिको शाशन र स्वतन्त्र पत्रकारिताकै खिल्ली उडाएको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटना संविधान तथा प्रेस स्वतन्त्रता विरोधी भएकाले तत्काल महर्जनलाई रिहा गरि यो काममा संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ । पत्रकार महर्जनलाई सर्बोच्च परिसरबाट प्रहरीले लछारपछार गर्दै आफ्नो गाडीमा रख्दै पक्राउ परेका पत्रकार महर्जनको रिहाई र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघ आन्दोलनका कार्यक्रम तय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक आज बोलाइएको महासंघले जनाएको छ ।
यस्तै पत्रकार महर्जनलाई रिहा गर्न विभिन्न राजनीतिक दल निकट पत्रकार संगठन र मानवधिकारकर्मीहरुले तत्काल रिहा गर्न माग गरेका छन् । अदालत परिसरबाटै पुनः दुर्ववहार र अभद्र व्यवहार गर्दै गिरफ्तार गरेको घटनाले सिङ्गो प्रेस जगतप्रति गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् ।
यस बिषयमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “नेपाल पत्रकार महासंघले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा हिजो सुनुवाई गर्दै सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिहा गर्ने आदेश दिएका न्यूगु ज्वजलपा वा÷पौ साप्ताहिकका सम्पादक जितेन्द्र महर्जनलाई अदालत परिसरवाटै गिरफ्तार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेकै कारण पत्रकारहरुमाथि विद्युतीय कारोवार ऐन, राज्य विरुद्धको अपराध जस्ता गम्भीर अभियोग लगाउँदै गैरकानूनी गिरफ्तारी गर्ने कार्यविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित भइरहेकै बखत सर्वोच्च अदालतले रिहा गरेका पत्रकारलाई अदालत परिसरवाटै पक्राउ गर्ने कार्यले लोकतन्त्र, मानवअधिकार, विधिको शाषन र स्वतन्त्र पत्रकारिताकै खिल्ली उडाएको छ । नेपाल पत्रकार महासंघ सरकारले गरेको यसप्रकारको संविधान तथा प्रेस स्वतन्त्रता विरोधी कार्यको घोर विरोध गर्दै पक्राउ गरिएका पत्रकारको तत्कालै निशर्त रिहाई तथा उक्त घटनामा जोडिएका सबैमाथि कारवाहीको माग गर्दछ । साथै अदालत परिसतवाटै पक्राउ गरिएका पत्रकारको रिहाई र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघ आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य भएको जानकारी गराउन चाहन्छौं । आन्दोलनका कार्यक्रम तय गर्न आज विहान ११ वजे महासंघ केन्द्रीय कार्यालयमा उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक राखिएको जानकारी गराउदछौं ।”