पत्रकार महर्जनको रिहाईको माग गर्दै विरोध प्रदर्शन

२०७६ बैशाख १३ गते, शुक्रबार

काठमाडौं, १२ वैशाख । जनपत्रकार संगठन नेपालका काठमाडौं जिल्ला संयोजक जीतेन्द्र महर्जनलाई तत्काल निसर्त रिहा गर्न माग गर्दै बिही राजधानीमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा माइतीघर मण्डलामा भएको प्रदर्शनमा आधा दर्जन पत्रकार पेशागत संगठनहरुले एक्यवद्धता जनाएका छन् । प्रदर्शनपछि आयोजित विरोध सभामा संगठनका प्रतिनिधिहरुले पत्रकार महर्जनलाई झुठा मुद्दामा फसाउन खोजेको भन्दै बिनासर्त तुरुन्त रिहा गर्न माग गरे । विरोधसभामा बोल्दै दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले पत्रकार महर्जन निर्दोष रहेको र उनीमाथि लगाइएको अभियोग प्रतिशोधबाट प्रेरित भएको बताए । तुरुन्त रिहा नगरिए दबू कडा संघर्षमा उत्रने चेतावनी उनले दिए । दबूका महासचिव सुनिल महर्जनले पत्रकार जितेन्द्र महर्जनमाथि सरकारले कपोल्कल्पित आरोप लगाएर स्वतन्त्र प्रेसलाई तर्साउन खोजेको तर त्यो सपना पूरा नहुने बताए । मिर्मिरे अनलाइनसँग कुराकानी गर्दै दबूका महासचिव महर्जनले पत्रकार महर्जनलाई तत्काल रिहा नगरे सशक्त आन्दोलनसाथ अघि बढ्ने बताए । बन्दी पत्रकार महर्जन दबूका काठमाडौं जिल्ला सदस्य समेत रहेका छन् ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले पत्रकार महर्जनलाई अनावश्यक रुपमा दुःख दिने र गलत अभियोग लगाएर फसाउन खोज्ने षडयन्त्र भइरहेको भन्दै पत्रकारमाथिको दमन प्रेस स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गरेर स्वतन्त्रपूर्वक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन सरकारसँग माग गरे । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघलगायत पेशागत संगठनका प्रतिनिधिहरुले पत्रकार महर्जनमाथि लगाइएको झुठा अभियोग खारेज गरी तत्काल रिहा गर्न माग गरे । साथै वक्ताहरुले प्रेसमाथि सरकारले ज्यादाती नरोके सशक्त आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।
पत्रकार महर्जनलाई चैत्र २७ गते समाचार संकलनकै क्रममा सर्वोच्च अदालत नजिक रामशाहपथबाट गिरफ्तार गरिएको थियो । ८ गते साँझ पुनः गिरफ्तारपछि राजद्रोहको अभियोगमा हाल महानगरीय प्रहरी वृत्त दरबार मार्गको हिरासतमा राखिएको छ ।
‘संविधान प्रदत्त विचार, अभिव्यक्ति, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, गैरन्यायिक हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहा गर’ लिखित ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो । कार्यक्रममा दर्जनौं संख्यामा पत्रकारहरु सहभागी थिए । कार्यक्रम समापनपछि दबूको एक टोली प्रहरी हिरासत दरबार मार्गमा पत्रकार महर्जनलाई भेट गर्न गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]