चीन फुटाउन काठमाडौँमा गोप्य सम्मेलन !
काठमाडौं, ३ असार । संसद्को सोमबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले चीनको सिन्चुवान प्रान्तलाई फुटाउन काठमाडौँमा गतिविधि हुँदै आएको खुलासा गरेका छन । गुरुङले काठमाडौँको बौद्धमा चीनको सिन्चुवान प्रान्तलाई फुटाउन फ्रि तिब्बत युवा काङ्ग्रेसको सम्मेलन भएको बताए । सिन्चुवान प्रान्तमा रहेका मुस्लिमहरूलाई उचालेर नेपालको भूमि प्रयोग गरी चीनलाई फुटाउने गतिविधि भइरहेको गुरुङले बताए ।
‘नेपालको भूमि प्रयोग गरेर छिमेकी देशलाई फुटाउने गतिविधिहरू हुन दिनु हुँदैन । सबै भन्दा ठूलो चुनौती भनेको भारतसँगको खुला सिमाना छ । काठमाडौँको बौद्धमा फ्रि तिब्बत युवा काङ्ग्रेसको सम्मेलन भएको छ । चीनलाई फुटाउन सम्मेलन भएको कुरा आएका छन्’, उनले भने, ‘काठमाडौँका होटेलहरूमा गोप्य रूपमा तालिम र सम्मेलन भइरहेका छन् । विदेशी र पश्चिमा राष्ट्रहरूको गतिविधि बढ्दै आइरहेको छ । यसलाई नियन्त्रण गर्नुपर्छ ।’
सिन्चुवान प्रान्तलाई चीनबाट अलग गराउनकालागि काठमाडौँमा विदेशी र पश्चिमाहरू आएर तालिम चलाइरहेको नेकपाका प्रमुख सचेतक गुरुङले संसद्मा जानकारी गराइरहँदा गृहमन्त्री रामबहादुर थापाले आफूलाई सचेत गराएका थिए ।
अमेरिकासँग अध्यागमन कार्यालयको डाटा राख्न ‘पाइचिस सफ्टवेयर’ राख्ने सहमति नेपाल सरकारले गरेकोमा सांसद गुरुङले विरोध गरे । उनले भने, ‘अध्यागमनमा पाइचिस सफ्टवेयर राख्न अमेरिकासँग भएको सहमति खारेज गर्नुपर्छ । नेपाल आफैँले सफ्टवेयर बनाउनु पर्छ ।’
गुरुङले इन्डो प्यासिफिक सैन्य सङ्गठनको पनि विरोध गरे । उनले नेपाललाई इन्डो प्यासिफिक सैन्य सङ्गठनबाट बाहिर राख्नु पर्ने बताए । ‘तत्कालीन सोभियत सङ्घलाई फुटाउन अमेरिकीहरूले ‘नेटो’ सैन्य गठबन्धन बनाएका थिए । नेटोले नै पछि गएर सोभियत सङ्घलाई फुटायो’, उनले भने, ‘एसिया प्यासिफिक सैन्य गठबन्धनमा नेपाल छैन भनिएको छ । इन्डो प्यासिफिक सैन्य गठबन्धन नेपालको भूमि प्रयोग गरेर चीनलाई फुटाउन बनाइएको सङ्गठन हो ।’
अमेरिकीहरू दुई–तीन महिनामा नेपाल आएर नेताहरूको घरघरमा गएर भेट्ने गरेको भन्दै सरकारी नेकपाका नेता गुरुङले अमेरिकीहरूको उक्त कार्य तत्काल रोक्न माग गरे ।
‘हाम्रो देशको भूमि प्रयोग गरेर छिमेकीलाई फुटाउन दिनु हुँदैन । अमेरिकीहरूलाई घरघरमा गएर नेताहरूलाई भेट्ने अनुमति कसले दियो ? उत्तर कोरियाली दूतावास नेपालबाट निकाल्नु प¥यो भनेर दबाब दिइरहेका छन्’, उनले भने, ‘नेताहरूको घरघरमा जाने अधिकार अमेरिकीले कसरी र कुन हैसियतले पाएको छ ?’
‘नेपालले अरूलाई तीन महिना भिसा दिएको छ तर अमेरिकीहरूलाई छ महिनाको भिसा दिइन्छ’, उनले भने, ‘भोलेन्टियरमा पनि अरूलाई एक वर्षको भिसा दिइन्छ तर अमेरिकीलाई दुई वर्षको भिसा दिने गरिएको छ । नेपालमा पश्चिमाहरूको गतिविधि बढ्दै गइएको छ । यो नेपालकालागि ठूलो दुर्भाग्य हुनेछ ।’
यसैगरी , सत्तारुढ दल नेकपाका सांसद गजेन्द्र बहादुर महतले गृहमन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै महतले अधिकार धेरै भएपनि गृहमन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताएका हुन् । उनले गृहमन्त्रालयलाई ‘अजिंगरको’ संज्ञा दिए । उनले भने, ‘म त गृहमन्त्रालय कस्तो देख्छु भने ‘अजिंगर’ जस्तो । नजिक आए खाईदिने, टाढा गएर शिकार नगर्ने । अहिले हाम्रो गृहमन्त्रालय यस्तो छ ।’ प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रोसँग काम नगर्दा सर्वसाधारण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समुहसँग न्याय खोज्न जाने गरेको खुलासा समेत उनले गरे । उनले भने, ‘७७ वटै जिल्लाका सिडियो छन् । प्रहरी प्रमुखहरु छन् । उनीहरुलाई निर्देशन दिने हो धेरै काम हुन्छ । भ्रष्टाचार आधा कम हुन्छ । जनताको आधा समस्या हल हुन्छ । मान्छेहरुले विप्लवकोमा ‘ओइ मेरो मुद्धा हेरिदे’ भन्न जानु पर्दैन ।’
भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमि नआएको भन्दै उनले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए । उनले भने, ‘गृहमन्त्रालयले चाह्यो भने दुईतिहाईको सरकारलाई चाँडो भन्दा चाँडो रिजल्ट दिन सक्छ । यो त न जनतासँग जोडिएको छ न जनप्रतिनिधिसँग जोडिएको छ । कसरी चलिरहेको छ ? उनले क्षमतावान व्यक्तिहरुलाई जिल्ला पठाउन पनि सुझाए । उनले भन, ‘सिडीओ अलि छानेर पठाउनुपर्यो नि । नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन । अलि क्यापेबल पठाउनुहोस् । त्यहाँ गएर खाली चिया खाएर गफ गर्ने, गाई चराउन जाने सिडिओ हामीलाई चाहिएको छैन । हामीसँगै टक्कर दिने सिडिओ चाहियो के ।’ सांसद महतले टेलिकमका कर्मचारीले एनसेलसँगको मिलेमतोमा आफ्नो सेवाको गुणस्तरमा कमि ल्याउने काम गरेको उल्लेख गर्दै त्यसतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए ।