आज ४१ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवस
काठमाडौं, ७ साउन । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस छ । पुष्पलालको सम्झनामा आज विविध कार्यक्रम गरिने सत्तारुढ दल नेकपाले जनाएको छ । १९८१ असार १५ मा भक्तलाल र तुलसीमाया श्रेष्ठको सन्तानको रुपमा रामेछापको भँगेरी गाउँमा पुष्पलालको जन्म भएको थियो । उनको निधन २०३५ साउन ७ मा भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँको पार्थिक शरीरलाई नेपाल ल्याउन दिएको थिएन ।
१९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा मृत्युदण्ड दिएपछि पुष्पलाल दाजुको अभियानलाई पूरा गर्नका लागि राजनीतिमा सक्रिय भएका थिए । नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् ।