नेकपाका नेता माइला लामा कारागार चलान
काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका व्युरो इन्चार्ज माइला लामा प्रज्वललाई कारागार चलान गरेको छ । ललितपुर जिल्ला अदालतमा मंगलवार भएको थुनछेकको बहसपछि अदालतले थप अनुसन्धान आवश्यक रहेको भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ४ नम्बर ईजलासमा भएको बहस पैरवी खाजा समय भन्दा अगाडि नै सकिएको थियो तर आदेश भने राति करिब पौने ८ बजे मात्रै आएको थियो ।
बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता खिमानन्द अधिकारी, अधिवक्ता नारायण प्रसाद तिवारीलगायतले बहस गरेका थिए । बहसपैरवी पछि न्यायधिस मदनकुमार धामिको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतको आदेश लगत्तै नेता लामालाई नख्खु कारागार पठाइएको छ ।
इन्चार्ज लामामाथि बम विस्फोट गराई ज्यानमार्ने उद्योग, कर्तव्य ज्यान, संगठित अपराध र राज्यविरुद्धको तथा हातहतियार खरखजना सम्बन्धि दुई वटा मुद्धा अभियोग लगाईएको छ ।
शनिवार राति साढे १२ बजे काठमाडौंको काडाँकारीबाट गिरफ्तार नेता लामालाई ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनासँग जोडेर मुद्धा चलाईएको छ । आइतवार र सोमवार दुई दिन बयान लिएपछि आज थुनछेकको बहस भएको थियो । बहसका क्रममा नेता लामाले इन्कारी बयान दिएका थिए । नेता लामाले नख्खु विस्टोटको घटनामा आफ्नो कुनै संलग्नता नभएको र सो समयमा आफु उपत्यकामा नै नरहेको बताएका थिए ।
तत्कालिन दसवर्षे जनयुद्धको थालनी हुनुभन्दा केही वर्ष अघिदेखि नै त्यसको तयारी, प्रचारप्रसार, जनचेतना र संगठन निर्माण–सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका माइला लामा जनयुद्धको थालनीदेखि ‘अन्त्य’ सम्म विभिन्न भूमिकामा रहेर सक्रिय रहेका छन् । जनयुद्धकै क्रममा उहाँको आँखाको दृष्टि र कानको श्रवणशक्ति गुमेको थियो । जनवादी कलाकार समेत रहेका लामा पहिलो संविधासभा निर्वाचनमा काठमाडौं– ९ मा चुनाव भिडेर झिनो मतान्तरले पराजित भएका थिए ।
कार्यकर्तामाझ अत्यन्तै कुशल, भरोसापूर्ण र अभिभावकत्वपूर्ण नेतृत्वका रुपमा स्थापित नेता लामा दोस्रो संविधानसभा निर्वाचनमा भने निर्वाचन बहिस्कारमा सक्रिय बने । माइला लामा जनयुद्धकालदेखि हालसम्म नै आम सर्वसाधारण जनता, तमाम लेखक–साहित्यकार एवं सबै क्षेत्रका कलाकार–सर्जकहरुबीच निकै आत्मीय, सम्मानित र स्थापित छन् ।
यता , सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा जवस इन्चार्ज मोहन बहादुर कार्की ‘जीवन्त’लाई प्रहरीले पुन गिरफ्तार गरेको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलवार भएको बहस पछि सर्वोच्च अदालतले नेता कार्कीलाई रिहा गर्न आदेश दिएको थियो ।
न्यायधिसद्धय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नेता कार्कीलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको देखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।