जनस्वास्थ्य प्रमुख घुससहित पक्राउ
काठमाडौं, १३ साउन । जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनस्वास्थ्य प्रमुखसहित ४ जनालाइ १ लाख ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसी छन्।
कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमवापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई कार्यालय हाताबाटै आइतबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिएका ४ जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अनुसन्धानपछि उनीहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरिनेछ।