कमलपोखरी अतिक्रमणबिरुद्ध विरोध प्रदर्शन
काठमाडौं , १९ साउन । काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीय प्रदर्शन गरेका छन् । भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् । नेवाः राजनीतिक अभियानले आज इन्द्रचोकबाट निकालेको विरोध र्याली ठमेलस्थित छायादेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवाहरुले ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक सम्पदा अतिक्रमण भएको भन्दै त्यसलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा काम गर्न माग गरे । उनीहरुले स्थानीयका मागका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार मौन बसेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए । र्याली र कोणसभामा सहभागीहरुले भूमाफियाको प्रलोभनमा परेर सरकारी कर्मचारीले कमलपोखरी अतिक्रमण गर्दा पनि महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेकोप्रति आपत्ति जनाए ।