नेपाल-भारत संयुक्त बैठक सुरू हुँदै

२०७६ भाद्र ४ गते, बुधबार

काठमाडौं, ४ भदाै । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि सुरु हुँदै छ । बैठकमा वाणिज्य र पारवहन सन्धी पुनरावलोकनको विषयमा छलफल हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल काठमाडौं आज आउँदै छ  । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आएलगत्तै अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्नेछन् ।
बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । बैठकमा परराष्ट्र सचिव, भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य, गृह, रक्षा, उर्जा, जलस्रोत, सिँचाई, उद्योग मन्त्रालयलगायतका प्रतिनिधिहरूकाे स्वीकृत भएको छ ।
आजदेखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा मुख्यगरी राजनीति, सुरक्षा र सीमा, कनेक्टिभिटी, उर्जा र जलस्रोत र संस्कृति र शिक्षाका एजेण्डमा छलफल हुने बताइएको छ । बैठकमा लामो समयदेखि अल्झेर बसेका परियोजनालाई कि त खारेज गर्ने अथवा योजनामा नयाँ मोडालिटी पहिल्याउन नेपालले प्रस्ताव गर्ने बताइएकाे छ । बैठकले दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौंकाे बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकमा आर्थिक साझेदारी, व्यापार, पारवहन र अन्य दुई पक्षीय हितका विषयमा पनि बैठकमा छलफल हुनेछ । त्यस्तै बाढीका कारण नेपाल र भारत दुवैतिरका नागरिक समस्यामा परेको भन्दै आयोगको बैठकमा यो विषयले पनि प्रवेश पाउने बताइएकाे छ ।
पञ्चेश्वर बहुउद्देश्य जलविद्युत परियोजना अघि बढ्न नसकेको भन्दै सो आयोजनाको भविष्यबारे पनि बैठकमा छलफल गर्ने नेपालको तयारी छ । मोतिहारी अमलेखगञ्ज पाइपलाइन उद्घाटनको चरणमा रहेको, अरुण तेस्रो जलविद्युत आयोजनाको कामले तिव्रत पाएको, हुलाकी राजमार्ग निर्माण कार्य अघि बढेको, जनकपुर जयनगर कुर्ता रेलवे तयार भइसकेको आन्तरिक जलमार्ग अध्ययनको कामकाे बारे पनि छलफल हुने बताइएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु