आज संविधान दिवस

२०७६ आश्विन ३ गते, शुक्रबार

काठमाडाैं, ३ असाेज । आज असोज ३ अर्थात् संविधान दिवस । वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । मुलुक संघीय संरचनामा अघि बढेको पनि दुई वर्ष पुरा भइसकेको छ । यता, सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा असन्तुष्ट पक्षले असोज ३ अर्थात् आजको दिनलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै छ । असन्तुष्ट पक्षले संविधान जारी हुँदा ‘ब्ल्याक आउट’ गरेको थियो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को अग्रसरतामा संविधान जारी हुँदा तराई–मधेसकेन्द्रित दलले भने हस्ताक्षर गरेनन् । ती दल प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका थिए । संविधान जारी भएसँगै आन्दोलन चर्किंदै गयो, जसका कारण नेपाली जनताले लामो समय भारतीय नाकाबन्दीको सामनासमेत गर्नुपरेको थियो । भारतसँगको नाकाकेन्द्रित आन्दोलनसम्म गरेर सरकारको समर्थकसमेत बनिसके पनि तत्कालीन मधेसी मोर्चाबाट बनेको राजपा र समाजवादी पार्टीको संशोधनको माग अझै रोकिएको छैन ।
यसैबीच , सरकारमा रहेको दल समाजवादी पार्टी नेपालले संविधान दिवस नमनाउने निर्णय गरेको छ । वर्तमान सरकारमा उपप्रधानमन्त्रीको हैसियतमा रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारले घोषणा गरेभन्दा विपरित संविधान दिवसका दिन कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
समाजवादी पार्टीले ‘संविधान त्रुटीपूर्ण र अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गते खुसीयालीको रूपमा दिपावली वा विरोधका रूपमा कालो दिन दुवै नमनाउने’ जनाएको छ । गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस दिनमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।
यता ,राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान दिवसको विरोध गर्ने निर्णय गरेको छ । संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले संविधान दिवसको देशैभर विरोध गर्ने निर्णय गरेको हो। संविधान दिवसको अघिल्लो दिन विहिबार सप्तरीक जिल्लाका प्रमुख बजारमा कालो झण्डासहित प्रदर्शन, मोटरसाईकल -याली तथा विरोध प्रदर्शन गरेकाे थियाे । कालो झण्डा र मोटर साईकल र्‍यालीसहित विरोध प्रदर्शन भई रहँदा राजापका कार्यकर्ताहरुले करिब आधा दर्जन सरकारी कार्यालयमा कालो झण्डा समेत झुण्डाएका थिए ।‘संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवसको रूपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिँदै असोज ३ गते देशव्यापी विरोध दिवस मनाउने निर्णय भएको छ,’ प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु