नेकपाद्वारा देशभर बिरोध प्रदर्शन
काठमाडाैँ, ४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले देशभर जुलुस प्रदर्शन गरेको छ ।सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा हिजो देशभर जुलुस प्रदर्शन गरेका हुन् । पार्टीको ब्युरोस्तरीय बैठक तथा प्रशिक्षण सञ्चालन भइरहेको समयमा बैठकस्थल नै कब्जा गरी प्रहरीले नेकपाका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा नेकपाले कात्तिक ३ गते देशव्यापी जुलुस प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते प्रधानमन्त्री केपी वलीको पुतला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मशाल जुलुस र कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।